राजनीति

संविधानविरोधीलाई छाडिन्न : गृहमन्त्री थापा

मकवानपुर - संविधानविपरीत गतिविधि गर्ने कसैलाई छुट नहुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।  प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा बुधबार हेटौंडामा सहभागी हुँदै उनले ध्वंसात्मक गतिविधिमाथि संविधान, कानुनले नै रोक लगाएकाले सरकारले नियन्त्रण गर्ने बताए।

‘विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास अहिले पनि जारी छ,’ उनले भने, ‘कानुनबमोजिम नै विप्लव समूहमाथि प्रतिबन्ध लगाएका हौं।’ 

सरकारले राष्ट्रिय सुरक्षा चुनौती पन्छाउँदै सुरक्षा व्यवस्था सुधार गरेको दाबी गर्दै भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी रोक्न लागि परेको गृहमन्त्री थापाले बताए। ‘देशको एकता, शान्ति, अखण्डताको चुनौतीलाई आधारभूत रुपमा समाधान गरेका छौं,’ उनले थपे, ‘संविधान र राज्यविरोधी समूह, तत्वको असुरक्षा र अस्थिरता पैदा गर्ने कोसिस नियन्त्रण गर्न सरकार सफल भएको छ।’

सरकारले भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको दाबी गर्दै उनले शान्ति र सुशासनका लागि सरकारले विशेष अभियान सञ्चान गरिरहेको बताए।  

कार्यक्रममा बुधबार प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाबारे प्रस्तुति दिएका थिए भने गृहमन्त्री थापाले समग्र देशको शान्ति सुरक्षा र सुरक्षा निकायहरुको कामबारे सम्बोधन गरेका थिए।

सुरक्षा गोष्ठीमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा इन्द्रजित राई, राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक गणेश अधिकारी, नेपाली सेनाका मध्यपृतना हेडक्वार्टरका पृतनापती एवं उपरथी सुवर्णबहादुर शाहलगायत सहभागी थिए।

प्रकाशित: ४ वैशाख २०७६ १४:१२ बुधबार

संविधानविराेधी रामबहादुर_थापा  प्रदेश_३_स्तरीय_सुरक्षा_गोष्ठी राष्ट्रिय_सुरक्षा_चुनौती