राजनीति

सभापतिज्यू! पार्टी कब्जा होइन कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नुस : सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई एक बनाउन भागवण्डाको अन्त्य हुनुपर्ने बताएका छन्। 

जनआन्दोलन दिवसको अवसरमा कांग्रेस काठमाडौं ६ ले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘हामी पार्टीभित्र भागवण्डा चाहँदैनौं। तर सभापतिजीले नै भागवण्डाको प्रस्ताव ल्याएपछि के गर्ने?’ 

नेता सिटौलाले नेतृत्वले पश्चताप गरे आफूहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारे। ‘सभापतिज्यू पार्टी कब्जा गर्नु ठूलो कुरा होइन। कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नु ठूलो कुरा हो’, उनले  भने।

सिटौलाले नेतृत्वले सबैलाई समेटेर लान नसकेको गुनासो गरे। ‘२०६४ सालमा हामी निर्वाचन हार्दा त्यसको ६ महिना वित्न नपाउँदै पार्टीमा उर्जा जगाएका थियौं। गिरिजाबाबुले स्वास्थ्यको ख्याल नगरी शेरबहादुरजी,  रामचन्द्रजीलाई एक ठाउँमा ल्याएर पूर्वपश्चिम जागरण अभियान चलाउनुभएको थियो। त्यो बेला कार्यकर्तामा उत्साह आएको थियो’, सिटौलाले भने, ‘पार्टीमा एकता हुनका लागि नीति, सिद्धान्त र हामी एउटै भन्ने भावना हुनुपर्छ। तर अहिलेको नेतृत्वमा त्यो देखिएन।’

अहिले पार्टी कमजोर हुनुमा नेतृत्व जिम्मेवार रहेको उनको भनाई छ। ‘निर्वाचनमा कतै राजावादीलाई भोट हाल्न लगायौं, कतै हसिँया हतौडामा त कहीँ महन्थ ठाकुर, बाबुरामजीलाई जितायौं। यसरी कसरी पार्टी बलियो हुन्छ?’ सिटौलाले प्रश्न गरे। २०६४ मा हार्ने निश्चित हुँदाहुँदै एक्लै चुनाव लडेको स्मरण गर्दै उनले भने, ‘गिरिजाबाबु प्रधानमन्त्री हुनुहुनथ्यो। म गृहमन्त्री थिए। हार्ने थाहा हुँदाहुँदै त्यो बेला हामीले कसैको झोला बोकेनौं, त्यसको परिणाम स्वरुप २०७० को निर्वाचनमा हामी पहिलो दल भयौं।’

नेता सिटौलाले नेतृत्वले पश्चताप गरे आफूहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारे। ‘सभापतिज्यू पार्टी कब्जा गर्नु ठूलो कुरा होइन। कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नु ठूलो कुरा हो’, उनले आग्रह गरे। 

अनुशासन समितिको गठन तथा सदस्यको नियुक्ति भागवण्डामा गरिएकोमा सांकेतिक विरोध जनाउँदै सिटौलाले थपे, ‘योग्यता र क्षमताका आधारमा भन्दा आफू निकटलाई अवसर दिने परिपाटी गलत छ। जेष्ठताका आधारमा अवसर दिएर सक्षम युवालाई किनारा लगाउनु दुर्भाग्य हो।’

प्रकाशित: २६ चैत्र २०७५ ०९:१३ मंगलबार

नेपाली_कांग्रेस कृष्णप्रसाद_सिटौला कम्युनिस्ट जनआन्दोलन_दिवस