राजनीति

हुरी पीडितको घर निर्माणको जिम्मा पाएपछि प्रधानसेनापति प्रभावित क्षेत्रमा

बारा– प्रधानसेनापति पूर्णचन्द्र थापाले चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट क्षति भएको भौतिक संरचनाको निरीक्षण गरेका छन्। बारा पर्साका हावाहुरी प्रभावितको घर निर्माणको जिम्मा सरकारले सेनालाई दिएका बेला प्रधानसेनापति थापा सोमवार। प्रभावित गाउँमा पुगेका हुन। 

थापाले फेटा गाउँपालिका १ भलुही भरवलिया र वडा नम्बर ६ पुरैनिया र परवानीपुरको चैनपुरमा पुगेर भौतिक संरचनाको निरीक्षण तथा पीडितसँग भलाकुसारी गरेका थिए।

थापासँगै क्षतिग्रस्त गाउँमा पुगेका नेपाली सेनाका कर्नेल पारसविक्रम शाहले हुरी प्रभावितलाई भेटेर प्रधानसेनापतिले पीडितको अवस्था बुझेको तथा घर निर्माण गर्न आवश्यक पर्ने जग्गाको बारेमा जिज्ञासा राखेको बताए। उनका अनुसार प्रधानसेनापति थापाले पीडितसँग भेटघाट गर्ने क्रममा जग्गा उपलब्ध गराइए सेनाले भत्केको घरको निर्माण कार्य शुरु गर्नमा ढिलाई नगर्ने आश्वासन दिएका थिए। सबै प्रक्रिया पूरा गरिए भत्किएको घरलाई वर्षा लाग्नुअघि नै निर्माणको काम सकेर पीडितहरूलाई हस्तान्तरण गर्ने लक्ष्य सेनाले लिएको थापाको भनाई छ।

लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितका लागि भने सामूहिक आवास बनाउने योजना ल्याएको र ऐलानी जग्गामा बस्दै आएकाहरुको घर बनाउने विषय भने अन्यौलमा रहेको उनले सुनाए। ऐलानी जग्गामा बसेकाहरुको हकमा प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले छलफल गरेर जग्गा उपलब्ध गराए उनीहरुको लागि पनि सामूहिक आवास बनाउन सकिने प्रधान सेनापतिले जानकारी गराए। 

प्रधानसेनापतिले निरीक्षण गरेका भलुही भरवलियामा दुई सय ६० घर, पुरैनियामा एक सय ६५ घर परवानीपुरको चैनपुर, शिवपुर र रामपुरमा चार सय ७५ घर क्षति भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। 

निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, प्रहरी उपरीक्षक सानुराम भटटराई, लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २५ चैत्र २०७५ १४:५४ सोमबार

हावाहुरी घर_निर्माण नेपाली_सेना पूर्णचन्द्र_थापा