राजनीति

प्रदेश सरकारले हुरी पीडितको घर बनाइदिने

काठमाडौं– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन्। 

बुधबार रिपोर्टर्स क्लबल आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन्। 

उनले भने, ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ। आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ। हामी सहयोग गर्न तयार छौं।’

उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए। उनले भने, ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ। हामी घरदैलो गरिरहेका छौं। उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे। 

मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए। घाइतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए। 

प्रकाशित: २० चैत्र २०७५ १६:४१ बुधबार

हावाहुरी_पीडित प्रदेश_२_सरकार घर_निर्माण पीडित