राजनीति

‘जेनेटिक मेमोरी’ले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्तः प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको जिकिर गरे।

‘हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्’, ओलीले भने, ‘तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे। जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो।’
उनले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नहुने बताए। ‘हामी गरिब छौं, अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन’, ओलीले भने, ‘हामी विद्वान पूर्खाका सन्तान हौं। केही समयसम्म शासकको कमजोरीले अलि पछि परिएको हो। तर अब त्यस्तो अवस्था रहँदैन।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाए। ‘समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस। तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ’, उनले भने। 

प्रकाशित: १९ चैत्र २०७५ १३:४१ मंगलबार

नेपाल_विज्ञान_तथा_प्रविधि_प्रतिष्ठान केपी_शर्मा_ओली नेपालीहरु जेनेटिक_मेमोरी अनुसन्धान