राजनीति

नेपाल–भारत सीमा बैठक : निर्वाचन अवधिमा ७२ घण्टा सीमा बन्द हुने

दार्चुला– भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा भारत–नेपाल सीमानाका बन्द गरिने भएको छ। भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा बैठकले चैत २६ गतेदेखि तीन दिनसम्म  निर्वाचनलार्य शान्तिपूर्वक सम्पन्न गर्न सीमा नाका बन्द गर्ने  निर्णय गरेको हो। जिल्ला प्रशासन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा दार्चुला र बैतडीका सुरक्षा निकायका प्रमुखहरुको बैठकले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि समन्वय बैठक भएको बसेको हो। चैत २८ हुने चुनावलाई मध्यनजर गर्दै दार्चुला र बैतडीका विभिन्न सीमा नाका बन्द गरिने बताइएको छ। 

त्यस्तै बैठकमा मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरीसिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागु पदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका बिषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी बिष्टले बताए। 

दार्चुलाको तर्फबाट सदरमुकाम बङाबगड पारिको खोतिला पहिरो नियन्त्रणका लागि यसअघि भएका सहमतिलाई कार्यान्वयमा तदारुकता दिनुपर्ने, मोटरेबल पुल निर्माण कार्य सञ्चालन सम्बन्धमा, सीमा क्षेत्रमा निर्माण कार्य गर्दा आपसी समन्वयन गर्ने, सीमामा सहज आवागमन, भारतीय मुद्रा सटही बिरामी लगायत बिशेष परिस्थितिमा भारतीय क्षेत्रमा सवारीसाधन बोक्न पाउने सम्बन्धमा समेत बैठकमा छलफल भएको थियो। बैतडी जिल्लाको तर्फबाट भन्सारमा चेकजाच र नेपालीले भारतमा पाउदै आएको पेन्सनलाई सहज रुपमा प्राप्त गर्ने वातावरण सृजना गर्ने विषयमा मुख्य गरी छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले  जानकारी दिए।

भारतका तर्फबाट लोकसभा समान्य निर्वाचन २०१९, सीमामा हुने अपराध, अवैध लागुपदार्थ ओसारपसारमा नियन्त्रण, मानव व्यापार, नक्कली नोट प्रयोगमा रोक, सीमा क्षेत्रमा हुने आइएसआइ गतिविधि नियन्त्रणमा सहयोग र कैलाश मानसरोवर यात्राको समयमा सीमा नदी महाकालीमा अस्थाई काठे पुल निर्माण सम्बन्धी बुँदामा छलफल भएको थियो। अगामी निर्वाचनमा सीमा क्षेत्रको शान्ति सुरक्षा, दुई देशीय सीमा क्षेत्रको अपराध नियन्त्रण, आपसी सम्बन्ध र सूचना आदानप्रदान लगायत विविध विषयमा छलफल भएको छ।

सीमा समन्वय बैठकमा नेपालको तर्फबाट दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मित्र बराल, जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाही, सशस्त्र प्रहरी  प्रमुख डिएसपी भिमबहादुर चन्द, प्रमुख अनुसन्धान अधिकृत हिरण्यबहादुर कुवरलगायत सहभागी थिए। यस्तै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता, डिभिजन वन कार्यालय प्रमुख हरिप्रसाद पाण्डे, छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरसिंह बडाल सहभागी थिए भने बैतडीका प्रजिअ आनन्द पौडेल, प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरी, सशत्र प्रहरी प्रमुख डिएसपी दुर्गादत्त पन्तलगायत सहभागी रहेका थिए। भारतको तर्फबाट पिथौरागढ जिल्ला अधिकारी डा. बिजयकुमार जोडदण्डे  तथा  सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १७ चैत्र २०७५ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App