राजनीति

कानुन व्यवसायीको चुनावमा ८१ प्रतिशत मत

काठमाडौं – कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको चुनाव शान्तिपूर्ण रुपमा शनिबार सम्पन्न भएको छ। सातवटै प्रदेशबाट भएको प्रत्यक्ष निर्वाचनमा देशभार तीन सय १३ मतदाता रहेकोमा आठ हजार तीन सय २९ मत खसेको छ।

देशभरका ३५ वटा मतदान केन्द्रबाट ८०.७८ प्रतिशत मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए। बारमा नयाँ नेतृत्वको परिणाम थाहा पाउन भने तीन–चार दिन पर्खनुपर्ने भएको छ। देशभर भएको चुनावको मतपेटिका काठमाडौं ल्याउने क्रम सुरु भएको रिजालले बताए। देशभरका मतपेटिका काठमाडौं आइसकेपछि मात्रै मतगणना सुरु हुने बताउँदै रिजालले भने ‘आइतबारसम्म मतपेटिका आइपुगेमा सोमबारदेखि मतगणना सुरु हुनेछ।’

नेपाल बार एसोसिएसनको २५औं केन्द्रीय कार्यसमितिका लागि भएको प्रत्यक्ष चुनावमा नेकपानिकट प्रगतिशील र नेपाली कांग्रेसनिकट लोकतान्त्रिक कानुन व्यवसायीको समूह मुख्य प्रतिस्पर्धी छन्। अध्यक्ष पदका लागि आठ जना उम्मेदवार भए पनि लोकतान्त्रिकका अधिवक्ता सुनिलकुमार पोखरेल र प्रगतिशील पक्षका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका लागि पुन्यप्रसाद खतिवडा, तोयनाथ ढुंगाना, गजेन्द्रबहादुर थापा, लोकेन्द्रध्वज खाँड, रामप्रसाद प्रजापति, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा पनि प्रतिस्पर्धामा छन्।

निर्वाचनमा सबैभन्दा धेरै काठमाडौं मतदान केन्द्रमा ६ हजार पाँच सय १७ जना मतदाता थिए। त्यसमध्ये ४ हजार चार सय ४३ ले मतदान गरेका छन्। काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा सबैभन्दा धेरै दुई हजार ८९ मतदाता थिए भने सोलुखुम्बु जिल्ला अदालत बारबाट सबभन्दा कम पाँच जनामात्र मतदाता थिए। उपत्यकाबाहिर ३४ स्थानमा मतदान केन्द्र तोकिएको थियो। २५ सदस्यीय केन्द्रीय बारको नयाँ कर्यसमितिका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन्। बारको चुनावमा लोकतान्त्रिक, प्रगतिशील र स्वतन्त्र प्यानलबाट मिश्रित परिणाम आउने आँकलन गरिएको छ।

प्रकाशित: १७ चैत्र २०७५ ०२:०२ आइतबार

कानुन_व्यवसायी नेपाल_बार_एसोसिएसन मतदाता