राजनीति

राप्रपामा आन्दोलन कमान्डर बुद्धिमान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको कार्यक्रम प्रभावकारी बनाउन जनसंघर्ष परिचालन समिति गठन गरेको छ। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्यसचिवमा महामन्त्री भास्कर भद्रा रहेका छन्।

समितिका सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्ष, विभागीय प्रमुखहरु, भ्रातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्ष रहेका छन्।

राप्रपाले चैत १६ सम्म प्रचारप्रसार र चैत १७ देखि २३ सम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान कार्यक्रम राखेको छ। यसैगरी चैत २५ मा केन्द्रमा सिंहदरबारअगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा सदरमुकाममा एकघण्टे धर्ना कार्यक्रम तय गरिएको छ।

यसैगरी चैत २८ मा सम्पूर्ण स्थानीय तहको केन्द्रमा एक घण्टे धर्ना, वैशाख ५ मा सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको ब्यानर तथा प्लेकार्ड जलाउने र वैशाख ८ मा सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रम तय गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

प्रकाशित: १६ चैत्र २०७५ ०३:०१ शनिबार

राष्ट्रिय_प्रजातन्त्र_पार्टी आन्दोलन