राजनीति

नेतालाई आक्षेप नलगाऊ : तरुण दल

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीका नेताहरुलाई आधारहीन आरोप नलगाउन सचेत गराएको छ।

पार्टी नेताहरुमाथि आधारहीन आरोप लगाउँदा जनाधार कमजोर बन्ने तरुण दलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको हित र अनुशासनविपरीत पार्टी नेताहरुलाई मिथ्या आरोप लगाउनेहरुलाई अनुशासनको कारबाही गर्न पार्टीका सम्बद्ध निकायसँग नेपाल तरुण दल जोडदार माग गर्छ।’

नेताहरुको मर्यादाको रक्षा र पार्टीको रक्षाका लागि तरुण दल दृढ र ठोस कदम चाल्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईले सभापति शेरबहादुर देउवामाथि कारबाही माग गर्दै पार्टीको अनुशासन समितिमा उजुरी दिएपछि तरुण दलको विज्ञप्ति सार्वजनिक भएको हो। बजगाईंले संसदीय मर्यादा भुलेर कार्यकर्तालाई निरास पारेको भन्दै देउवालाई कारबाही माग गरेका छन्।

प्रकाशित: १६ चैत्र २०७५ ०२:३५ शनिबार

नेपाली_कांग्रेस नेपाल_तरुण_दल