राजनीति

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

काठमाडौं– जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन्। 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट र जिसीसहित अन्य प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खड्गले उजुरी दिएका थिए। 

पीडितको उजुरीका आधारमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधवार जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग गरिएको थियो। 

अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार निलम्बित एसपी विष्ट अदालतको आदेशअनुसार यसअघि नै रिहा भइसकेका छन्। 

प्रकाशित: १३ चैत्र २०७५ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App