राजनीति

विप्लवलाई वार्तामा ल्याउ : संग्रौला

बुटवल- नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाइ प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन्। सांसद समेत रहेकी संग्रौलाले बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरीएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको दावी गरेकी हुन। नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  नेता संग्रौलाले सुरक्षा, सुशासन,शान्ति र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी पनि गरीन।

 राष्ट्रिय सुरक्षा परिषद विधेयक मार्फत सरकारले संविधान उल्लघंन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना संचालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसीएको उनको भनाइ छ। राष्ट्रियताको सवालमा  सीके राउत र प्रम ओली एकै सिक्काका दुइ पाटामा उभिएको  उल्लेख गर्दै उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मुठभेड तीर धकेल्न खोजेको आरोप लगाइन। सरकारले बार्ताबाटै समाधान खोज्नु पर्नेमा जोड दिदै  विप्लव नेतृत्वको नेकपालाइ पनि बार्तामा आउन आग्रह गरिन। ‘जनता शान्ति चाहान्छन। देशले द्वन्द थेग्न सक्दैन। सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले यो सत्यलाइ आत्मसाथ गर्नु पर्छ’ संग्रौलाले भनिन्।

सरकार स्वयमले संघीयतालाइ असफल बनाउन लागिरहेको उनको आरोप छ। प्रमुख जिल्ला अधिकारलाइ सुरक्षाको अधिकार दिन खोज्नु संविधान र संघीयताको मर्म बिपरित भएको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाइ अधिकार दिन कन्जुस्याइ गर्न नहुने बताइन्। नागरिकता विधेयकका सम्बन्धमा उनले पुरुष सरह महिलाले नागरिकताको अधिकार पाउने गरी व्यवस्था हुनु पर्नेमा जोड दिइन्।

प्रकाशित: १२ चैत्र २०७५ ०६:४१ मंगलबार

कांग्रेस विप्लव वार्ता