राजनीति

कांग्रेसमा भावनात्मक एकता आवश्यक : महामन्त्री कोइराला

बर्दिया – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा भावनात्मक एकता आवश्यक रहेको बताएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्ताहरुसँगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस कमजोर हुँदा लोकतन्त्रमा पनि खतरा उत्पन्न हुने भन्दै पार्टीमा भावनात्मक एकताको खोजि गर्नुपर्ने बताए। 

त्यसका लागि पहल थाल्न आम नेता तथा कार्यकर्तालाई समेत आग्रह गरे। ‘मुलुक कम्युनिस्टमय भएको छ। यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ’, उनले भने, ‘त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो। मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान सुरु गरेको हो।’

महामन्त्री कोइरालाले कम्युनिस्टहरु निरकुशतातर्फ अगाडि बढेको आरोप लगाए। उनले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरकुशतातर्फ उन्मुख हुन लागेको आरोप लगाए। सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको पनि महामन्त्री कोइरालाले बताए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको असतुष्ट समूहलाई समयमा नै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा फसाउन सरकार लागेको बताए। 

 

प्रकाशित: ११ चैत्र २०७५ ११:१५ सोमबार

कांग्रेस भावनात्मक_एकता शशांक_कोइराला