राजनीति

पाकिस्तानको राष्ट्रिय दिवसमा उपराष्ट्रपतिदेखि माधव नेपालसम्म

काठमाडाैं- उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गरेका उक्त समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्व मन्त्री, नेपाल सरकार वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी नागरिक, वरिष्ठ सञ्चारकर्मी तथा समाजक प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। 

त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत मजहरले पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको र द्विपक्षीय सम्बन्ध सधै सुमधुर एवं प्रगाढ रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना साकार पार्ने लक्ष्यमा नेपाललाई सफलता मिलोस् भन्दै उनले राष्ट्रिय उत्सवको आजको सन्देश शान्त, समृद्ध र स्थिर दक्षिण एशिया हो भने। 

त्यसअघि शनिवार बिहान महाराजगञ्जस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको थियो। त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले राष्ट्रिय दिवसका अवसरमा जारी गर्नुभएका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो। 

प्रकाशित: ९ चैत्र २०७५ १५:०७ शनिबार

पाकिस्तान राष्ट्रिय_दिवस नन्दबहादुर_पुन