राजनीति

विकास र समृद्धिले नेपालीको मुहारमा उज्यालो ल्याउने छ : प्रम ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। 

गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे गिती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन गर्दै ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए। “हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ”, प्रधानमन्त्री ओलीले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।”

प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औसत सुखमा विश्वास नगर्ने बताए। । “हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औसतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौ”, उनले भने, “हरेक व्यक्तिले महसुस गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ।” 

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनशिलताको प्रशंसा गरे। “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यती राम्रो सृजना गर्नुभएको छ”, उनले भने, “उहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।”

प्रकाशित: ९ चैत्र २०७५ १३:४४ शनिबार

विकास_र_समृद्धि प्रधानमन्त्री नेपाली