भैरहवा - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणसँगै प्रधानमन्त्रीले मुलुकको प्रतिष्ठासँग जोडिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम जुन गतिमा काम भइरहेको त्यही गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले अहिलको टर्मिनल भवन र विमान पार्किङ क्षेत्रलाई अझै विस्तार गर्न सुझाव पनि दिएका छन्।
विमानस्थल आयोजनाबारे नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक संजीव गौतमले समग्रमा विमानस्थल निर्माणको काम ६८ प्रतिशत सम्पन्न भइसकेको छ र तालिकाअनुसार नै काम भइरहेको ब्रिफिङ गरेका थिए।
सो क्रममा गौतमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा–सम्पन्न हुने उल्लेख गर्दैै सन् २०१९ भित्र निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान परीक्षण गर्ने लक्ष्य रहेको बताए। गौतमका अनुसार कुनै अवरोध नआए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिले नै परीक्षण उडान गर्न सकिनेछ।
सन् २०१९ भित्रै परीक्षण उडान हुने
विमानस्थलको मुख्य धावनमार्गको तीन तहको कालोपत्रे र टयाक्सी–वे जोड्ने काम सम्पन्न भइसकेको छ। तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाई र २३ मिटर चौडाइमा ट्याक्सी–वेसहितको चौथो तहको कालोपत्रे केही समयमा हुने प्राधिकरणले जनाएको छ। हालसम्म विमानस्थलको एप्रोन (विमान पर्किङ) को काम सम्पन्न भइसकेको छ। त्यस्तै विमानटर्मिनल भवन, प्रशासनिक भवनको फिनिसिङको काम भइरहेको छ भने कन्ट्रोल टावरको काम पनि अन्तिम चरणमा पुगिसकेको छ।
विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टमध्येको आगमनतिरका संरचना पनि तयार भइसकेका छन्। प्रस्थानतर्फको ढलानको काम सकिएर छानाको काम भइरहेको छ। आयोजनाको अनुसार अब २० प्रतिशत विधुत्को काम र १२ प्रतिशत अन्य सिविल काम पूरा हुन बाँकी रहेको छ। एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरण खरिद, आयात तथा जडानका लागि बोलपत्र एवं प्रक्रियागत काम अघि बढिरहेको छ।
त्रिभुवन विमानस्थलमा आउने प्वाइन्ट एयर–बस ३३०, बोइङ ७७७ लगायतका सबै जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गर्न सकिन्छ। टर्मिनल भवन त्रिभुवन विमानस्थलभन्दा केही सानो भए पनि भौतिक संरचनाहरू स्तरीय रहेको प्राधिकरणको दाबी छ।
प्रकाशित: ९ चैत्र २०७५ ०३:१६ शनिबार