राजनीति

मेडिकल कलेजको अनुगमन संसदीय समितिले गर्ने

काठमाडौं – मुलुकभरका मेडिकल कलेजमा भइरहेको बदमासी र हेलचेक्राइलाई संघीय संसदको शिक्षा समितिले अनुगमन गर्ने भएको छ। मुलकभर रहेका २२ वटा मेडिकल कलेजमा मापदण्ड वीपरित चर्को शुल्क लिएको तथा शिक्षामा गुणस्तर पु-याउन नसकिरहेको बेला समितिले अनुगमन गर्न लागेको हो।

सो अनुगमन गर्ने बारेमा शिक्षा समितिमा अनौपचारिक छलफल चलिरहेको सदस्य योगेश भट्टराईले बताए। ‘दुई तीन वटा टिम बनाएर मेडिकल कलेजको अनुगमन गर्ने तयारीमा छौं,’ भट्टराईले नागरिकसँग भने, ‘कलेजमा भइरहेका बद्मासीलाई नियन्त्रण गर्न पनि संसदीय समितिको सक्रियताको खोजी भइरहेको छ।’

उनका अनुसार समितिले केही दिनमा नै निर्णय गरेर अनुगमनको कार्य सुरु गर्नेछ। गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज, जानकारी मेडिकल कलेजलगायतले विद्यार्थीसँग चर्को शुल्क लिएको र सो कारण विद्यार्थीले आत्महत्यासमेत गर्न थालेको समाचार प्रकाशित भएपछि संसदीय समिति अनुगमनका बारे सो निर्णय गरिएको हो।

प्रकाशित: ८ चैत्र २०७५ ०३:१२ शुक्रबार

मेडिकल_कलेज संघीय_संसद शिक्षा_समिति अनुगमन