राजनीति

'राजा सहजै दरबार छाड्न तयार भए'

फाइल तस्बिर

काठमाडौं – सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, ‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण ग¥यौं। एक दिनअघि नारायणहिटी पुगेर छोडिदिनुस् भन्याैँ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुझावअनुसारै तत्कालीन राजासँग आफूहरू वार्ता गर्न गएको सुनाउँदै महराले भने, ‘हामीले सो काम गिरिजाबाबुकै सुझावअनुसार गरेका थियौं र सफल पनि भयो।’ गिरिजाप्रसादको विलक्षण व्यक्तित्वका कारण शान्ति प्रक्रिया र गणतन्त्र दुवै सफल भएको सुनाउँदै महराले थपे, ‘गिरिजाबाबुसँग पहिलोपटक बिपीपुत्र श्रीहर्षको निवासमा भेट भएको थियो। उहाँले कसरी आइपुग्नुभयो, रोल्पमा सिडिओले कत्तिको दुःख दिएका छन् भनेर सोध्नुभयो।’

१२ बुँदेको मस्यौदामा समेत दुवै पक्ष आ–आफ्ना अडानमा रहँदा पटक–पटक असफल हुने अवस्थामा गिरिजाप्रसाद कोइरालाले नै त्यसलाई जोगाएको सुनाउँदै महराले भने, ‘उहाँहरूले राजनीतिको मूलधारमा माओवादी पनि समेटिने भनेर लेख्नुभयो। हामीले तपार्इंको मूलधारमा माओवादी आउँदैन भनिहाल्यौ। केही दिनपछि गिरिजाबावुले नयाँ मूलधार भन्ने शब्द खोज्नुभयो त्यो बुँदामा भने सहमति भयो।’

प्रकाशित: ८ चैत्र २०७५ ०१:३७ शुक्रबार

कृष्णबहादुर_महरा ज्ञानेन्द्र_शाह नारायणहिटी दरबार