राजनीति

नेपालसँग साझेदारी बढाउने इयुको चाहना

काठमाडाैं – युरोपियन युनियनले नेपालसँगको साझेदारी बढाउने चाहना व्यक्त गरेको छ। सोमबार काठमाडौंमा युरोपियन डेलिगेसनको नयाँ कार्यालयको उद्घाटन गर्दै एसिया र प्रशान्त क्षेत्रका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका उपप्रबन्ध निर्देशक पाओला पम्पालोनी र नेपालका लागि इयुका राजदूत भेरोनिका कोडीले नेपालसँगको साझेदारीलाई थप विकास गर्न चाहेको जनाएका छन्। कार्यालयको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

पम्पोलोनीले नेपाल र इयुबीचमा दुई पक्षीय सम्बन्ध सुरु भएपछि सन् १९७३ देखि नै विकास र सहयोग साझेदार हुँदै आएका छन्। गत वर्ष दुई मुलुकले मित्रताको ४५ औं वर्षगाँठ मनाएको भन्दै उनले इयु डेलिगेसनको भूमिका दुई पक्षीय सम्बन्धलाई अघि बढाउन सहयोगी हुने विश्वास व्यक्त गरेकी छिन्।

नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँग भेट गरेकी थिइन्।

इयु र यसका सदस्य मुलुकहरु नेपालको ठूला विकास सहयोगी हुन्। सन २०१४ देखि २०२० सम्मको अवधिमा इयुले नेपालमा सहयोग बढाएर १२० मिलियन युरोबाट ३६० मिलियन युरो पुर्याएको छ। यस्तो सहयोग ग्रामीण विकास, शिक्षा, पुनर्निर्माणलगायतका क्षेत्रमा खर्च हुँदै आइरहेको छ। इयुले नेपाललाई सन् २०२२ सम्ममा विकासशील मुलुकमा पुग्ने लक्ष्य प्राप्तिका लागि पनि सहयोग गर्ने जनाएको छ।

इयुले नेपाललाई विकास साझेदारका रुपमा मात्र नभएर राजनीतिक साझेदारका रुपमा पनि सहकार्य गर्न खोजेको र त्यो साझेदारीलाई नयाँ उचाईमा पुर्याउने विषयमा पनि राजनीतिक छलफलको आवश्यकता औंलाइएको छ।

प्रकाशित: ६ चैत्र २०७५ ०१:५४ बुधबार

युरोपियन_युनियन नेपाल साझेदारी