राजनीति

असन्तुष्ट जिल्ला सभापतिहरुले चैत अन्तिम साता भेला गर्ने !

काठमाडाैं - केन्द्रीय समितिले महासमितिले गरेको निर्णय उल्टाएपछि आक्रोशित नेपाली कांग्रेस जिल्ला सभापतिहरुले चैत अन्तिम साता देशभरका जिल्ला सभापतिहरुको बैठक गर्ने भएका छन्।

मंगलबार काठमाडौंमा बसेको ११ जिल्ला सभापतिको बैठकले पार्टीलाई केन्द्रीय समितिले मनोमानी ढंगले चलाएको भन्दै त्यसको विरोधमा उत्रने निर्णय गरको हो। केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक निकायमा समानुपातिकमा पटक पटक स्थान दिइनु नहुने उनीहरुको माग छ।

‘पार्टीले महासमितिजस्तो अधिकारसम्पन्न समितिको निर्णय उल्टयायो। यसले पार्टी कमजोर बन्ने निश्चित देखिन्छ।’ नुवाकोट जगदीश्वरनरसिंह केसी भन्छन्, ‘पार्टी सुधार्नु हाम्रो जिम्मेवारी हो, त्यसका निम्ति चैत अन्तिम साता जिल्ला सभापतिको बैठक बोलाएका हौं।’ उनका अनुसार सिन्धुपाल्चोक या काठमाडौंमध्ये एक ठाउँमा बैठक बस्ने छ।

पार्टीले महासमितिको निर्णय नसच्याए विशेष महाधिवेशनको विषयलाई पनि व्यापक रुपमा उठाइने केसीले बताए। एक महिना लामो रस्साकस्सीपछि पार्टी केन्द्रीय समितिको बैठकबाट सभापति समूहले बहुमतबाट विधान पारित गरेको थियो। असन्तुष्ट समूहले निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट पनि लेखेका थिए।

त्यसपछि जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको चेतावनी दिँदै विज्ञप्तिसमेत जारी गरेका थिए। जिल्ला सभापतिहरुले पछिल्लो समय असन्तुष्ट समूहले पनि केन्द्रीय समितिमा आफूहरुको माग सशक्त रुपमा नउठाइएको भन्दै दुखेसो पोख्दै आएका छन्। 

 

   

प्रकाशित: ५ चैत्र २०७५ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App