राजनीति

मियाँको नागरिकतामा 'मानवीय त्रुटि'

काठमाडौं - मुस्लिम आयोगका अध्यक्षमा सिफरिस गरिएका समिम मियाँ अन्सारीको नागरिकतामा उल्लेख भएको जन्ममिति फरक पर्नुमा जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्मचारीको मानवीय त्रुटि कारण रहेको बताएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसदीय सुनुवाइ समितिलाई विवरण खुलाई पठाएको पत्रअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते नै भएको प्रतिलिपी लिँदा मानवीय त्रुटिका कारण २०३७ साल असोज २४ गते उल्लेख भएको पत्र पठाएको छ।

मियाँका २०५५ साल पुस २२ गते पहिलोपटक जिल्ला प्रशासन कार्यालय काठमाडाैँबाट नागरिकता लिएका थिए। त्यही आधारमा सवारीचालक अनुमतिपत्र पनि २०५५ माघ ७ गते जारी गरिएको थियो। तर उनले पछिल्लोपटक प्रतिलिपी लिँदा नागरिकतामा २०३० साल असोज २४ तर प्रतिलिपी रहेको अभिलेख रजिष्टरमा भने २०३७ असोज २४ गते उल्लेख रहेका कारण विवाद उत्पन्न भएको थियो। यसले गर्दा संसदीय सुनुवाइ समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई २३ फागुन २०७५ मा विवरण खुलाई पठाइदिन अनुरोध गरेको थियो। त्यसको प्रतिउत्तरमा प्रशासनले अभिलेख राख्ने कर्मचारीको त्रुटि भएको विवरण पठाएको छ।

संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस भएका अन्सारीमाथि छानबिन थालेको थियो। समितिको वैठकले अन्सारी विरुद्ध नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थालेको थियो। तर जिल्ला प्रशासन कार्यालयले भने अभिलेखमा मानवीय त्रुटि भएको पत्र पठाएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०१:४८ शुक्रबार

मुस्लिम_आयोग समिम_मियाँ_अन्सारी नागरिकता जन्ममिति