राजनीति

विप्लवले शिविरबाट हतियार लगेको मन्त्री खनालद्वारा खुलासा

सुर्खेत- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनाल ‘बलदेव’ले तत्कालिन लडाकु शिविरबाट विप्लव समूहले हतियार लिएर बाहिरिएको बताएका छन्। उनले तत्कालिन छ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरहरुबाट विप्लव समूहले हतियार लिएर बाहिरिएको दावी गरे।

पूर्व डेपुटी कमाण्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूहले तत्कालिन लडाकु शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्ने बारेमा खुलाएनन्। ‘मेरै नेतृत्वमा सेना समोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं’ उनले भने, ‘त्यहीँ बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो।’ उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लिनेक्रममा आगजनीसमेत रहेको दावी गरे।

बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खनालले विप्लव समूहले हिंसात्मक गतिविधि बढाएकाले प्रतिवन्ध लगाउनु परेको बताए। ‘हामी देशलाई समृद्धिको मार्गमा डोर्‍याउने अभियानमा छौं, विप्लव समूहले त्यसलाई रोक्न खोज्यो’ उनले भने, ‘त्यसैले उसमाथि प्रतिवन्ध लगाइएको हो।’ उनले संविधानमा राजनीतिक दललाई प्रतिवद्ध लगाउने व्यवस्था नभएपनि वम विस्फोट गराउने, जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुली गर्नेलाई राजनीतिक दल मान्न नसकिने बताए।

कर्णालीबाट अर्गानिक अभियान

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनालले कर्णाली प्रदेशबाट अर्गानिक अभियानको सुरुवात गरिएको बताए। ‘१० वर्षभित्र देशलाईनै अर्गानिक बनाउने लक्ष्य सरकारको छ’ उनले भने, ‘त्यसको सुरुवात कर्णाली प्रदेशबाट गरेका छौं।’ उनले अन्य प्रदेशको तुलनामा कर्णालीमा विषादीको प्रयोग कम रहेकाले कर्णालीबाट अर्गानिक अभियानको सुरुवात गरिएको बताए।

कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माणका लागि विधेयक तयार गरेको बताउँदै तीन तहकै सरकारको समन्वयमा अर्गानिक प्रदेशको आधार तयार गरिने बताए। उनले कृषिको उत्पादकत्व बढाउनका लागि व्यक्तिका नाममा रहेका जमिनलाई सहकारीमार्फत प्रयोगमा ल्याइने बताए।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ११:१२ बुधबार

मन्त्री कृषि विप्लव हतियार