राजनीति

‘सर्कुलर’ कुर्दै विप्लव कार्यकर्ता, जिल्लाभर उच्च सुरक्षा सतर्कता

दोलखा- सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं जिल्ला र गाउँ तहमा सुरक्षा सतर्कता बढाईएको छ।

विप्लवका कार्यकर्ता भने बुधबार मध्यान्ह सम्म अन्यौलमा छन्। उनिहरु पार्टी केन्द्रको निर्णय कुरेर बसेका छन्। मंगलबारको मन्त्रिपरिषद बैठकले विप्लब समूहका गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्धको निर्णय लगतै उसले गर्न सक्ने प्रतिक्रियात्मक गतिविधि रोक्न बुधबार बिहानै देखी जिल्ला भरका प्रहरी चौकी र गाउँमा सुरक्षा सतर्कता बढाईएको छ।

प्रहरीले बिहानैदेखी गाउँका चौकीहरुबाट गस्ती बढाएको छ भने दोलखाका २३ ओटै प्रहरी युनिटहरुमा उच्च सतर्कता अपनाईएको छ। जिल्ला स्थित सुरक्षा अधिकारीहरुका अनुसार सशस्त्र र जनपथ प्रहरीको संयुक्त गस्ती बढाईएको छ। सडक मार्गहरुमा पट्रोलिङ गस्ती निकालिएको छ। अधिकारीहरुका अनुसार विप्लव समूहले गतिविधि गर्न सक्ने सम्भावित स्थानहरुमा निगरानी बढाईएको छ। 

जिल्लाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले विप्लव समूहका गतिविधि हुन नदिन र भईहाले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको सुनाए। उनका अनुसार समूहको गतिविधि निस्तेज पार्न सादा पोसाकमा समेत सशस्त्र र जनपथ प्रहरी खटाईएका छन्। जिल्ला सुरक्षा समितिको बैठक मार्फत जिल्ला तहका सुरक्षा अधिकारीहरुले दोलखामा करिब २ सय ५० जनाको हाराहारीमा विप्लव समूहसंग कार्यकर्ता रहेको आंकलन गरेका छन्।  उसका गतिविधि प्राय रामेछाप संग सिमाना जोडिएका दक्षिणी गाउँमा हुने गरेका छन्।

सरकारले प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता कार्यकर्ता पार्टीको सर्कुलर पर्खेर बसेका छन्। ‘भष्ट्र दलालहरुलाई कार्बाही गर्ने अभियान चलाएका थियौं’ सो पार्टीका जिल्ला अध्यक्ष यादव दाहालले नागरिकन्युज संग टेलिफोनमा भने – ‘तर तिनै भष्ट्र दलालहरुलाई खुसी पार्न हामी माथी प्रतिबन्ध लगाएर लडाईमा जान बाध्य पारिएको छ।’  उनले आफुहरु अहिले जिल्ला भित्रै रहेको र पार्टीको सर्कुलर कुरेर बसेको सुनाए। ‘अब कसरी अगाडि बढ्ने भनेर पार्टी केन्द्रको बैठक बस्दैछ’ उनले भने – ‘उक्त बैठकबाट जे सर्कुलर आउछ सोही अनुसार अगाडी बढ्छौं।’

प्रकाशित: २९ फाल्गुन २०७५ ०६:१८ बुधबार

नेकपा विप्लव माओवादी