राजनीति

विप्लव, खुला सीमा र साना हतियार चुनौती

बुटवल - सत्तापक्ष केही नेता र सांसदले राष्ट्रिय अखण्डता र संविधानविपरीत सिके राउतसँग सहमति गरेको भन्दै संघीय सरकारको चर्को आलोचना गरिरहेका बेला गृहमन्त्री रामबहादुर थापाले भने विखण्डनकारी शक्तिलाइ राजनीतिको मूल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धि हासिल गरेको बताएका छन्।

प्रदेश ५ को सुरक्षा गोष्ठीलाइ सोमबार भैरहवामा सम्बोधन गर्दै गृहमन्त्रीले स्वतन्त्रता, स्वाधीनता, स्वराजको नारा दिएर देश विखण्डन गर्न खोज्ने असामाजिक तत्वलाई मूल प्रवाहमा ल्याएर सरकारले सम्भावित विखण्डनको खतराबाट मुलुकलाई जोगाएको बताएका हुन्। देशमा शान्तिसुरक्षा कायम गर्न सरकार सफल भएको दाबी पनि गृहमन्त्रीले गरे।

सरकार र राउतबीच भएको सहमतिको बचाउ गर्दै गृहमन्त्री थापाले सहमतिपत्रमा जनअभिमत लेखिएकाले त्यसलाई जनमतसंग्रहका रुपमा व्याख्या नगर्न आग्रह गरे। राष्ट्र विखण्डनका लागि जनमतसंग्रह गर्ने विषय संविधानमा उल्लेख नभएकाले सरकार संविधानविपरीत नजाने उनले बताए। स्वतन्त्र मधेसको लक्ष्य, उद्देश्य, नीति तथा नारा पूर्णतया त्यागेर राष्ट्रिय अखण्डताको पक्षमा लाग्ने प्रतिबद्धतासहितको सहमतिपत्रमा राउतले हस्ताक्षर गरिसकेकाले उनी पृथक्तावादी अजेन्डा त्यागेर राजनीतिको मूल प्रवाहमा आइसकेको दाबी गृहमन्त्रीले गरे।

जनकपुरमा आइतबार राउतका कार्यकर्ताले गरेको प्रदर्शन र लगाएको स्वतन्त्र मधेसको नारा अन्तिम भएको दाबी गर्दै गृहमन्त्री थापाले सहमतिको यर्थाथ सन्देश उनका कार्यकर्ता माझ नपुगेकाले त्यस्तो प्रदर्शन भएको हुन सक्ने बताए। ‘उहाँहरुले उठाएको स्वतन्त्र मधेस मुद्दाको बिदाइको खुसियालीमा अन्तिमपटक नारा लगाइएको पनि हुन सक्छ’, गृहमन्त्री थापाले भने। सरकार असामाजिक तथा आपराधिक तत्वलाइ निस्तेज पार्न ठोस सुरक्षा योजना बनाएर अगाडि बढेको उनले बताए। ‘राज्य र संविधान विरोधी तत्वहरुले शान्तिसुरक्षामा चुनौती दिन खोजिरहेका छन् तर सरकारले तिनीहरूलाई निस्तेज पारेरै छोड्छ’, उनले भने।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति लक्षित गर्दै गृहमन्त्री थापाले राजनीतिका नाममा असामाजिक र आपराधिक गतिविधि गरिरहेको समूहलाई पनि सरकारले वार्ताका लागि अपिल गरिरहेको बताए। सरकारको पहिलो प्राथमिकता वार्ताबाटै समस्याको समाधान खोज्ने रहेको उल्लेख गर्दै उनले वार्ताबाट भाग्न खोजे विप्लव समूहप्रति कठोर रुपमा प्रस्तुत हुने उनले बताए। गृहमन्त्री थापाले देशको शान्तिसुरक्षामा बाधा पार्न खोज्ने जुनसुकै समूहलाई पनि निस्तेज पार्ने सरकारको सुरक्षा रणनीतिअनुरुप अगाडि बढ्न प्रदेशका सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिए।

गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, गृह सचिव, प्रदेश मुख्य सचिव, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसमेत सहभागी गोष्ठीमा गृहमन्त्री थापाले शान्तिसुरक्षाविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका हुन्।
दुई दिन आइतबार र सोमबार चलेको गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था र वस्तुस्थितिबारे जानकारी गराएका थिए। प्रदेश ५ मा विप्लव नेतृत्वको नेकपा सुरक्षाको मुख्य चुनौती रहेको बिफ्रिङ उनीहरूले गरेका थिए। प्रदेशमा चन्दा आतंक, साना हतियार, भारतसँगको खुला सिमाना, लागु औषध सुरक्षा चुनौतीका रुपमा रहेको सुरक्षा अधिकारीहरुले बताए। विशेषगरी रोल्पा, रुकुम र प्युठानमा विप्लव नेतृत्वको नेकपाको चन्दा आतंक र अर्धभूमिगत गतिविधि बढेको जानकारी सुरक्षा अधिकारीले बैठकमा जानकारी गराएका थिए। खुला सिमानाका कारण शान्तिसुरक्षा कायम गर्न समस्या भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

गृहमन्त्री थापाले आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिएको प्रजिअ रानाले बताए। ‘आपराधिक तथा अवाञ्छित गतिविधि निन्यन्णा गर्न माथिको आदेश कुर्नु नपर्ने निर्देशन गृहमन्त्रीले दिनुभएको छ’, थापाले भने।

प्रकाशित: २८ फाल्गुन २०७५ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App