पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले पृथकतावादी नेता सीके राउतलाई राजद्रोहको मुद्दा लगाउन माग गरेका छन्। नेकपाका युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले पृथकतावादी नेता सीके राउत र उनका कार्यकर्तालाई राजद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेका हुन्।
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं दिनको पूण्य तिथीमा सोमवार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सांसद पहारीले राउतले सहमति उल्लंघन गरेकाले उनलाई जेल हाल्न माग गरे। सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै राउतको उपस्थितीमा जनकपुरमा स्वतन्त्र मधेसको नारा लाग्नु राष्ट्रघाती र जनघाती काम भएको उनको भनाई छ।
नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताभन्दा ठूलो कोही नभएको बताउँदै पहारीले नेपालको राष्ट्रियता कमजोर पार्ने छुट कसैलाई नभएको स्पटष्ट पारे। ‘कि राउतले अक्षरशः सहमति पालना गर्नुप-यो, होइन भने मनपरी गर्ने, नेपालको राष्ट्रियता कमजोर पार्ने ढंगबाट गतिविधि गर्ने छुट उनलाई छैन्। सरकारसँग भएको सहमतिलाई जालझेल वा तिकडमको खेलोमेलो बनाउने अधिकार पनि छैन्।’
कार्यक्रममा सांसद पहारीले मन्त्री अधिकारी र पुराना वामपन्थी नेता भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए।
प्रकाशित: २७ फाल्गुन २०७५ १२:२४ सोमबार