राजनीति

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

काठमाडौं - ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) बुझाएका छैनन्। चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृतसमेत गरिसकेकी छन्। तर आयुक्त पदबाट हटेको महिना दिन बित्न लाग्दा पनि पाठकले रातो पासपोर्ट फिर्ता नगरेको पाइएको हो। राहदानी फिर्ता नगरेपछि पाठकलाई सरकारले विदेश जानसमेत अघोषित प्रतिबन्ध लगाएको छ। अनुसन्धानको दायरामा भएका कारण पाठकमाथि सरकारले विशेष निगरानी राखेको छ। उच्चस्रोतका अनुसार बानेश्वर, खरीबोटस्थित निवास वरपर सादा पोशाकका सुुरक्षाकर्मीले पाठकको निगरानी गरिरहेका छन्।

राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार पाठकले रातो पासपोर्ट फिर्ता गरेका छैनन्। ‘पदबाट हटेपछि सुविधाबापत पाएको राहदानी फिर्ता गर्नुपर्छ,’ महानिर्देशक खड्काले भने, ‘तर आयुक्तको हैसियतमा पाएको कूटनीतिक राहदानी उहाँले हामीलाई फिर्ता गर्नुभएको छैन।’ सरकारले विशिष्ट श्रेणी वा सोभन्दा माथिका राष्ट्रसेवक, भिभिआइपी, भिआइपी तथा विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीका लागि रातो पासपोर्ट जारी गर्नसक्ने व्यवस्था छ। कुटनीतिक राहदानी सरकारी सेवाबाट अवकास वा कारबाहीपछि सम्बन्धित व्यक्तिले फिर्ता गर्नुपर्ने हुन्छ। फिर्ता राहदानीको अवधि रद्ध गरेर राहदानीबाहकले लैजानसमेत पाउँछन्। तर पाठकले रद्ध वा फिर्ता केही पनि नगरेको विभागले जनाएको छ।

सार्वजनिक पदबाट हटे पनि पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी फिर्ता गर्नुभएको छैन : रामकाजी खड्का, महानिर्देशक/राहदानी विभाग

अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले पाठकको छानविन वा राहदानी फिर्तासम्बन्धी विषयमा प्रतिक्रिया दिन मानेनन्। ‘यस विषयमा मलाई केही पनि नसोध्नुहोला,’ प्रवक्ता दंगालले भने, ‘अनुसन्धानको दायरामा भएको विषयबारे मलाई केही थाहा छैन।’ अध्यागमन विभागले यसअघि कूटनीतिक राहदानीबाहकको सेवा सकिएलगत्तै स्वत रद्ध वा खारेज हुने व्यवस्था राख्न बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ भएको छैन।

यसैबीच, अख्तियारले ७८ लाख घुस प्रकरणमा मुछिएका आरोपितहरूसँग बयान जारी राखेको छ। तत्कालिन आयुक्त पाठकलाई घुस दिने बिचौलिया ज्ञानेन्द्र झासँग बयान लिइसकेको आयोगले पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठक र कलेज सञ्चालक लम्बोदर न्यौपानेसँग बयान जारी राखेको छ। शुभनारायण तत्कालिन आयुक्त पाठकका सहोदर भाइ हुन् भने न्यौपाने इन्जिनियरिङ कलेजका सञ्चालक।

आयोगले आयुक्त पाठकसँग पनि छिट्टै बयानका लागि बोलाउने तयारी गरेको छ। घुस प्रकरणमा जोडिएका कलेज सञ्चालक, विचौलियालगायतसँग बयान लिइसके पनि पाठकलाई बोलाउने अख्तियार स्रोतले बतायो। यसअघि झाले दिएको बयानअनुसार आयुक्त पाठकले पटक–पटक गरी ७८ लाख रुपैयाँ लिएको स्वीकारी सकेका छन्। घुस प्रकरणमा अख्तियारले सहसचिव, उपसचिव र नेपाल प्रहरीका डिएसपी सम्मिलित तीन सदस्यीय टोलीमार्फत् छानविन जारी राखेको छ।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:२५ सोमबार

घुस अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग राजनारायण_पाठक रातो_पासपोर्ट