राजनीति

विकासका लागि विदेशी सहकार्य र लगानी आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन्। नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आइतवार यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ।” 

नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक छ भने। 

नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उहाँले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गरे। 

दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकी शहरमा भएको दुःखद घटना विश्वका लागि अन्तिम दृष्टान्त बनोस् र इतिहासमा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै उनले भने, “हामी सदैव शान्तिको पक्षमा छौंँ, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौँ।” 

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन र तालीमका क्रममा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न एशोसिएशनका सदस्यलाई आग्रह गरे। जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको असाकुमाले जाइकाले नेपालको जनशक्ति क्षेत्रमा गर्दै आएको सहयोग कार्यक्रमबारेमा जानकारी दिँदै एशोसिएशनले विकास र सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे।

प्रकाशित: २६ फाल्गुन २०७५ १०:३४ आइतबार

केपी_शर्मा_ओली विकास लगानी नेपाल_जाइका_एलमुनाई_एशोसिएशन