राजनीति

कांग्रेस शीर्ष नेताको ध्यान जिल्लातिर

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरू जिल्ला केन्द्रीत कार्यक्रममा सक्रिय भएका छन्। सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरू विभिन्न जिल्लाका कार्यक्रममा व्यस्त भएका हुन्। निर्वाचित नगरपालिका र गाउँपालिकाका उपप्रमुखसँगको छलफलमा सहभागि हुन बिहीबार मोरङ पुगेका सभापति देउवा शुक्रबार पोखरा जाने कार्यक्रम छ।

म्याग्दी जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्न देउवा शनिबार वेनी पुग्ने छन् भने आइतबार पर्वतको जलजला कार्यसमितिको भवनको शिलन्याश गरेर बाग्लुङ सदरमुकाममा पार्टी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नेछन्। फागुन २७ गते पार्टीको पर्वत जिल्ला सम्मेलनको उद्घाटन गरेर देउवा २८ गते मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

नेता पौडेलले फागुन २५ देखि चैत १ गतेसम्म प्रदेश नम्बर ४र ५को जिल्ला भ्रमणमा निस्कने भएका छन्। पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पौडेल गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की र पाँचका पश्चिम नवलपरासी, अर्धाखाँची र कपिलवस्तुमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् छन्। पौडेल २५ गते म्याग्दी, २६ गते पर्वत र कास्की, २७ गते परासी,२९ गते अर्घाखाँची र ३० गते कपिलवस्तुको कार्यक्रममा सहभागि भएर चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ। त्यस्तै, उपसभापति निधि पनि बिहीबार गृहजिल्ला धनुषा पुगेका छन्। फागुन २६ गतेसम्म त्यहाँ आयोजीत विभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं फर्कने योजना रहेको स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए।

महामन्त्री शशांक कोइराला शुक्रबार पार्टीको कार्यक्रममा सहभागी हुन परासी पुग्दैछन्। एकदिन त्यहाँ बसेर शनिबार काठमाडौं आउने तयारीमा रहेका कोइराला २८ गते फेरि परासी हुँदै प्युठानमा आयोजित कार्यक्रममा सहभागी भएर २९ गते मात्र काठमाडौं फर्कने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। शीर्ष नेताहरू उपत्यका बाहिरको कार्यक्रममा व्यस्त भएसँगै पार्टी केन्द्रीय समितिको बैठक चैत ४ गतेका लागि डाकिएको छ। केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको अनुशासन समिति गठनसहितका विषयमा छलफल हुनेछ। सभापति देउवा र असन्तुष्ट पक्षका नेताहरूबीच उक्त समिति गठनमा सहमति जुट्न नसक्दा यसअघि बोलाइएको बैठक त्यसै स्थगित भएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७५ ०१:५१ शुक्रबार

नेपाली_कांग्रेस शीर्ष_नेता