राजनीति

‘महिलाविरुद्धका विभेदमा सबै उठौं ’

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पिडनको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट माथि उठ्न सबैलाई आह्वान गरेकीछिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले महिलाहरुको हक, अधिकार, समानता, सशक्तिकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील हुन आग्रह गरेकी हुन् ।

लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार भन्ने यस वर्षको नाराले सम्पूर्ण महिलाको चौतर्फि विकास र शसक्तिकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीलेको सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ ।’

त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता एबं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त बनाउनु पर्नेमा जोड दिएका छन् । देउवाले शुभकामना सन्देश जारी गर्दै नेपालमा अहिले पनि शहरदेखि दुर दराजका गाउँहरुमा महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् । ‘महिला माथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो,’ देउवाले भनेका छन्, ‘हिंसा-लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा-मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो ।’

कांग्रेस सबै खाले हिंसाको अन्त्यको पक्षमा रहेको जनाउँदै उनले भनेका छन्, ‘महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ ।’

प्रकाशित: २४ फाल्गुन २०७५ ०१:४६ शुक्रबार

विद्यादेवी_भण्डारी महिला विभेद