राजनीति

उदाहरणीय नेता थिए रवीन्द्र : प्रधानमन्त्री ओली

काठमाडाैं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दिवगंत मन्त्री रवीन्द्र अधिकारीको एक बर्से कार्यकाल हेर्न आग्रह गरेका छन्।

सरकारप्रति आलोचना गर्नेहरु बढ्दै गएको भन्दै उनले यसबाटै सरकारको कामको रफ्तार बुझन् आग्रह गरेका हुन्। नेकपा सचिवालयले आयोजना गरेको स्वर्गीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री अधिकारी र कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो भने पूर्वउपप्रधानमन्त्री अधिकारीको फागुन १९ गते श्वासप्रश्वाससम्बन्धी समस्याका कारण ८२ वर्षको उमेरमा निधन भएको थियो। यस्तै सचिवालयले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीसँग हेलिकप्टर दुर्घटनामा परी निधन भएका सबै सात जनाप्रति संयुक्त श्रदाञ्जलि अर्पण गरिएको थियो।

श्रदाञ्जलि सभामा प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको विद्यार्थी जीवनदेखिको राजनीतिक यात्राको चर्चा गरेका थिए। उनले भने, ‘छोटो समयमा पनि राम्रा काम गर्न सकिने उदाहरण हुन् अधिकारी, रवीन्द्रको काम गर्ने क्षमता र योजना अतुलनीय थियो।’ शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै उनीहरूको जिविकोपार्जनको अवस्थाप्रति सरकार संवेदनशील भएको पनि प्रधानमन्त्री ओलीले बताए।

श्रदाञ्जलि सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहलले अधिकारीद्वयको क्षतिलाई पूर्ति गर्न सम्पूर्ण पार्टी तप्काले नै सामूहिक संकल्प गर्नुपर्ने बताए। ‘सभालाई निर्वाचनमा पार्टीले गरेको प्रतिबद्धता समीक्षा गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ’, दाहालको अभिप्राय थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ११:४८ बिहीबार

केपी_ओली रवीन्द्र_अधिकारी हेलिकप्टर_दुर्घटना भरतमोहन_अधिकारी