राजनीति

पूर्वउपप्रधानमन्त्री अधिकारीको शोक प्रस्ताव पारित

काठमाडौं – हालै निधन भएका पूर्व सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको नाममा संघीय संसद्ले शोक प्रस्ताव पारित गरेको छ। मंगलबार बसेको राष्ट्रियसभा तथा प्रतिनिधि सभाको बैठकले अधिकारीको निधनमा दुःख व्यक्त गर्दै सो शोक प्रस्ताव पारित गरेको हो। अधिकारीको गत १८ गते ह्याम्स अस्पतालमा निधन भएको थियो।

‘२०४८, २०५१ र २०५६ सालमा मोरङ जिल्लाबाट प्रतिनिधिसभा, २०७० सालमा संविधानसभामा सदस्य रहनु भएका स्वर्गीय अधिकारीले २०४६ सालमा प्रजातन्त्र पुनः स्थापनापछि संविधान सुझाव आयोगको सदस्य, २०५१ र २०५५ सालमा नेपाल सरकारको अर्थमन्त्री, २०५३ सालमा निमार्ण तथा यातायात मन्त्री, २०६१ र २०६७ सालमा उपप्रधान एवं अर्थमन्त्रीलगायतको जिम्मेवारी सम्हाल्नुभएको थियो’ शोक वक्तव्यमा भनिएको छ, ‘यो बैठक दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।’ अधिकारीप्रति श्रद्धाञ्जलीका लागि मंगलबारको बैठकमा मौनधारणसमेत गरिएको थियो।

यसैगरी, प्रतिनिधिसभाको मंगलबारको बैठकले अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई संसद् बैठकले सर्वसम्मत पारित गरेको हो।

मंगलबारकै बैठकले राष्ट्रियसभा नियमावली–२०७५ संशोधन मस्यौंदा समितिको प्रतिवेदन पेस भएको छ भने प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएका दुईवटा विधयेकलाई व्यवस्थापन समितिमा पठाइएको छ। बैठकले जीवनाशक विषादी व्यवस्थापन विेधेयक २०७५ र लेखा परीक्षण विधेयक २०७५ लाई व्यवस्थापन समितिमा पठाइएको हो। राष्ट्रियसभाको अर्को बैठक फागुन २६ गते बस्नेछ।

प्रकाशित: २२ फाल्गुन २०७५ ०१:१२ बुधबार

संघीय_संसद भरतमोहन_अधिकारी शोक_प्रस्ताव