राजनीति

पूर्व अर्थमन्त्री अधिकारीको निधन

काठमाडौं– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पतालमा रहेका अधिकारीका सहयोगी महेश विष्टले जानकारी दिए। 

अस्पतालले पनि अधिकारीको निधनको औपचारिक घोषणा गरेको छ। अस्पतालद्वारा जारी विज्ञप्तिमा अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको उल्लेख छ। अधिकारीको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

अधिकारीको स्वास्थ्य अवस्थामा विग्रिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिवार साँझ ह्याम्स अस्पताल पुगेका थिए। उनले पनि अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको र कति घण्टासम्म जिवित रहनुहुन्छ भन्ने एकिन नभएको चिकित्सकले जानकारी गराएको बताएका थिए। 

अधिकारीको उपचारमा संलग्न डाक्टर हेमराज पनेरुले यसअघि अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य निरन्तर खस्किँदो रहेको र महत्वपूर्ण अंगले काम गर्न छोडेको बताएका थिए। अधिकारीले २४ घण्टादेखि पिसाब नगरेको बताउँदै बचाउन सक्ने सम्भावना न्यून रहेको डा पनेरुको भनाई थियो।

अधिकारीको फोक्सो र मुटुमा समस्या थियो। उनी निमोनियाबाट पनि ग्रसित थिए। 

गत पुस २३ गतेदेखि अस्वस्थ बनेका अधिकारीलाई सुरुमा ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका थियो। थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

पार्थिव शरीर भोलि पार्टी कार्यालयमा राखिने

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भरतमोहन अधिकारीको शव पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिने भएको छ। अधिकारीको पार्थिव शरीर भोलि विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिको लागि केन्द्रीय कार्यालयमा राखिने श्रेष्ठले जानकारी दिए।

 

भरतमोहन_अधिकारी निधन ह्याम्स_अस्पताल