राजनीति

राप्रपाको जस्तो पुरानो होइन, मध्यमार्गी बाटो खोजौं : कमल थापा

इटहरी - देश टुक्रयाउनुपर्छ भन्नेलाई सरकारले कारबाही गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन्। राष्ट्र विखण्डनकारी सक्रिय भएको र अर्कातिर मुलुकमा राजनीतिक संकट निम्तिएको उनले बताए।मुलुकमा विदेशी चलखेल बढ्दै गएको बताउँदै उनले भने, ‘यस्ता खालका संगठन दिन÷प्रतिदिन बढ्दै जान थालेका छन्। सरकारले त्यसमा प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन।’

पार्टीले थालेको ‘राष्ट्रिय स्वाभिमान यात्रा’को तेस्रो दिन शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रिया टुंगिएको १२ वर्ष भए पनि फेरि नयाँ माओवादी जन्मिएको भन्दै यसले समस्या निम्तिन शंका व्यक्त गरे। ‘नयाँ माओवादीले एकै दिन २० वटा जिल्लामा विस्फोट गराएको बताउँदै उनले मुलुकको राजनीतिक अवस्था संकटग्रस्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। धर्म निरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयनबारे बहस गर्ने बेला आएको उनको भनाइ थियो।

राप्रपाको मागजस्तो पुरानो व्यवस्थामा फर्कने नभई सबै पक्षलाई मिलाएर लिएर जानेमा मध्यमार्गी बाटो खोजिनुपर्ने उनको धारणा थियो। नेता थापाले धार्मिक स्वतन्त्रता कायम राखेर सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने माग इटहरीमा पनि दोहोर्याएका थिए। 

प्रकाशित: १७ फाल्गुन २०७५ १३:०५ शुक्रबार

राप्रपा कमल_थापा राजनीतिक_संकट