राजनीति

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पोखरा– पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए। नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो। यसअघि मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखियो भने गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा पनि श्रद्धञ्जलीका लागि राखिएको थियो।

मन्त्री अधिकारीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रको झण्डा अढाए भने वामदेव गौतमले पार्टीको झण्डा ओढाएका थिए। मन्त्री अधिकारीलाई अन्मित संस्कारका लागि पोखराको प्रदर्शनी केन्द्रदेखि महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट शवयात्रा निकाल्दै रामघाटमा पुर्याइएको थियो।

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब चार दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ। 

आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए।

प्रकाशित: १७ फाल्गुन २०७५ ११:२५ शुक्रबार

रवीन्द्र_अधिकारी अन्त्यष्टि हेलिकप्टर_दुर्घटना रामघाटमा