राजनीति

परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको महसुस गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले उक्त घटनाबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने सारथी गुमाएको उल्लेख गरेका छन्। 

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो।

प्रधानमन्त्री ओली फेसबुकमा लेख्छन्–

‘हामी देखेको समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको सम्भाव्यता अध्ययनको लागि जानुभएको थियो।
यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु। सरकार साथमा छ (हामी सबै साथ) साथ मिलेर यस पीडालाई सहन गर्न सकौं।’

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:०५ बिहीबार

केपी_शर्मा_ओली दुर्घटना रवीन्द्र_अधिकारी