राजनीति

संसदमा अनुत्तरित नै रहे यी प्रश्न

काठमाडौं – प्रतिनिधिसभाको १६ गते बिहीबार(आज) बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। पर्यटनमन्त्रीसँग ३ जना सांसदले मौखिक प्रश्न सोध्नका लागि नाम टिपाएका थिए। प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै अन्तर्राष्ट्रिय उडानका लागि हवाई मार्ग थप गर्ने सम्बन्धमा के कस्तो प्रगति भएको छ भन्ने प्रश्न थियो।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य कहिलेसम्म पूरा हुन्छ भन्ने प्रश्न पनि सोध्ने तयारी गरेका थिए। कांग्रेस कै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको गोकुलेश्वर एयरपोर्ट कहिलेदेखि पुनः सञ्चालन गर्ने कार्यक्रम छ भन्ने प्रश्न सोध्ने तयारीमा थिए।

कांग्रेस सांसद् रामबहादुर विष्टले प्रदेश ७ को पर्यटकीय क्षेत्र खप्तड वडिमालिका, रामारोशन र तितौडालाई विदेशी पर्यटकहरुलाई आकर्षित पार्नका लागि थप कार्ययोजना के छ भन्ने प्रश्न सोध्ने तयारी गरेका थिए। उनको अर्को प्रश्न अछाम जिल्लाको कमलबजार एयरपोर्ट सञ्चालन सम्बन्धमा सरकारको तयारी के छ भन्ने थियो।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:११ बिहीबार

प्रतिनिधिसभा संसद मन्त्री_रविन्द्र_अधिकारी प्रश्न