राजनीति

सांसद्को ज्यान गएपछि सडक सुरक्षा कार्यदल

बुटवल - सडक दुर्घटनामा सर्वासाधारणले ज्यान गुमाउँदा चासो नदेखाएको प्रदेश सरकारको चेत सडक दुर्घटनामै सांसदको मृत्यु भएपछि खुलेको छ। सडक दुर्घटनामा घाइते प्रदेश ५ का सांसद उत्तरकुमार वलीको उपचारकै क्रममा शुक्रबार निधन भएपछि प्रदेश सरकारले दुर्घटना न्यूनीकरणमा चासो देखाउन थालेको हो। सरकार सडक सुरक्षा योजना कार्यक्रम ल्याउने तयारीमा लागेको छ।

प्रदेश ५ सरकार बनेको एक वर्ष पूरा भएको छ। यस अवधिमा यो प्रदेशमा दैनिक झन्डै दुईजना सर्वसाधारणले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। यसरी दिनहुँजसो सर्वासाधारणले ज्यान गुमाउँदा चासो नदिएको प्रदेश सरकारले सांसद वलीको मृत्युलगत्तै सडक दुर्घटना न्यूनीकरण सुझाव कार्यदल गठन गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सडक सुरक्षा विषयमा अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेस गर्न मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा कार्यदल गठन गरेको हो। प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठित सडक सुरक्षा सुझाव कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्यसचिव छन्।

यो प्रदेशमा दैनिक झन्डै दुईजना सर्वसाधारणले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । दिनहुँजसो सर्वासाधारणले ज्यान गुमाउँदा चासो नदिएको सरकारले सडक दुर्घटनामा घाइते सांसद उत्तरकुमार वलीको उपचार क्रममा मृत्यु भएलगत्तै सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ ।

कार्यदलले प्रदेशका सडकको अवस्था, सडक सुधारका लागि गर्नुपर्ने काम, दुर्घटना रोक्ने उपायसहितको प्रतिवेदन तयार गरी बुझाउने छ। त्यस्तै ट्राफिक नियम पालनाको अवस्था सम्बन्धमा पनि कार्यदले अध्ययन गर्ने छ। कार्यदललाई प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ। प्रतिवेदनका आधारमा सरकारले सडक सुरक्षा योजना बनाएर लागु गर्ने बताइएको छ। प्रदेशसभा सदस्यमा दाङबाट निर्वाचित वलीको निधनमा शनिबार दाङ दंगीशरण–६, बागरखोलामा आयोजित श्रद्धान्जलीसभामा पनि मुख्यमन्त्री शंकर पोखरेलले वलीकै स्मृतिमा सडक सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याउने बताए। माघ २४ गते दाङमा भएको सडक दुर्घटनामा घाइते वलीको उपचारका क्रममा शुक्रबार निधन भएको हो।

प्रदेश ५ मा पछिल्लो सात महिनामा सवारी दुर्घटनामा ३ सय ४८ जनाको ज्यान गएको छ। यो तथ्यांक हेर्दा दैनिक झन्डै दुईजनाको ज्यान गएको देखिन्छ। यस अवधिमा सबैभन्दा धेरै दाङमा ७४ र रुपन्देहीमा ६८ जनाले ज्यान गुमाएका छन। दुर्घटनामा घाइते भएका १ हजारमध्ये ५ सय ५५ गम्भीर अवस्थाका छन्। गम्भीर घाइतेमध्ये आधाजसोको अंगभंग भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। चालकको लापरबाही सडक दुर्घटनाको मुख्य कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी गणेश चन्दले बताए। तीव्र गति र जथाभाबी ओभरटेक गर्न खोज्दा दुर्घटना हुने प्रहरीले जनाएको छ। ७ महिनामा प्रदेशका १२ जिल्लामा ८८२ वटा सडक दुर्घटना भएका छन्। तीमध्ये २९८ वटा चालकको लापरबाही र २३१ तीव्र गतिका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सबैभन्दा धेरै ३८२ वटा मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिकको तथ्यांक छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१९ सोमबार

दुर्घटना सडक_सुरक्षा_कार्यदल