राजनीति

जानको अध्यक्षमा पुन: भुसाल

काठमाडौं – नेपाल जाइका अलमुनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल पुनः निर्विरोध भएका छन्। जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषिविज्ञ डा. भुसाल सार्क जाइका अलमुनाईहरुको छाता संगठन जाइका अलमुनाई एसोसियसन फोरम (जाफ्स) को महासचिवसमेत छन्।

जानको नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका हुन्। जसअनुसार उपाध्यक्षमा केदार पौडेल, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका श्रेष्ठ, सचिवमा डा. किरण रुपाखेती, सहकोषाध्यक्षमा दुर्गाप्रसाद भुसाल निर्वाचित भएका छन्। यसैगरी सदस्यमा बुद्धिनारायण श्रेष्ठ, सुशीलकुमार भट्टचन, रोशन बज्राचार्य, गोमादेवी पौडेल, ई. रामेश्वरप्रसाद कलवार र उमा श्रेष्ठ निर्वाचित भएका छन्। जान जापानमा अध्ययन गरी फर्किएका नेपालीको संस्था हो।

जान नेपाल र जापानबीच सरकारी र जनस्तरमा सुमधुर सम्बन्ध विकास गरी जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि क्रियाशील रहँदै आएको छ। जानका एक हजार एकसय भन्दा बढी सदस्य छन्।

प्रकाशित: ११ फाल्गुन २०७५ ०२:२५ शनिबार

नेपाल_जाइका_अलमुनाई_एसोसियसन अध्यक्ष डा._रामचन्द्र_भुसाल