राजनीति

मन्त्री मगरकाे उद्घाेष : मेलम्ची निर्माणमा कुनै कमी हुन दिन्न

फाइल तस्बिर

काठमाडाैं - खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएकोले यसको निर्माणमा कुनै कमी हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले आयोजना सम्पन्न गर्न आफु गम्भीरताका साथ लागेको बताइन्।

मन्त्री मगरले आयोजनामा कसैको गिद्धे नजर लाग्न नदिने दाबी गरीन्। 'मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। यो मेरो व्यक्तिगत सफलतासँग समेत जोडीएको छ। त्यसैले मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न दिने छैन, तपाईहरु ढुक्क हुनुहोस्।', मन्त्री मगरले भनिन्।

मेलम्चीका बाँकी काम सम्पन्न गर्न सिएमसीलाई नै ल्याउने पहल भइरहेको र सिएमसी नआए पुनः टेन्डर हुने उनले बताइन। उनले भनिन् 'विधिसम्मत रुपमा ठेक्काको मापदण्ड भित्र सिएमसी आउँछ भने हामी ल्याउन तयार छौं नत्र पुनः टेन्डर प्रक्रियामा जान्छौं।'

उनले खानेपानी मन्त्रालयबाट सरुवा गरिएका सचिवको विषयमा भने आफुले दिएको फर्मुला अनुसार काम नगरेपछि सरुवा गरेको बताइन्। मेलम्चीको काममा ढिलाई गरेको कमिसनमा लागेको जस्ता प्रचार गरिएको प्रति आफू गम्भीर भएको उनकाे भनाइ छ।

 

प्रकाशित: १० फाल्गुन २०७५ ०९:१९ शुक्रबार

विना_मगर मेलम्ची प्रतिनिधिसभा