राजनीति

लोकतन्त्रमा नकारात्मक प्रवृत्ति प्रतिबिम्बित : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दा लोकतन्त्रसामु नकारात्मक प्रवृत्ति प्रतिबिम्बित हुन थालेको बताएका छन्। ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि भइरहेको आरोप लगाएका हुन्।

‘यस्ता कतिपय गतिविधि आपराधिकसमेत छन्, जुन सह्य हुँदैनन्। राजनीतिक रङमा रंगिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुश्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ। म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले अहिले द्वन्द्व व्यवस्थापन भइसकेको दाबी गरे। उनले भने, ‘द्वन्द्व व्यवस्थापनका सन्दर्भमा नेपालले मौलिक विधि अपनायो। आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित गरेको छ।’ अहिले हामी बिल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले जनताको सार्वभौमसत्ता कायम भएको पहिलो राजनीतिक परिवर्तनपछि सात दशकमा अनेकौं आरोहअवरोह पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेको औंल्याए।

उनले परिस्थिति बदलिएसँगै कामका प्राथमिकता पनि फेरिएको बताएका छन्। ‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं। आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं ’, प्रधानमन्त्री ओलीले भने। सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा लागेको पनि उनले बताए। प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक एवम् सामाजिक रूपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको पनि दाबी गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:१४ बुधबार

केपी_शर्मा_ओली लोकतन्त्र नकारात्मक_प्रवृत्ति प्रजातन्त्र_दिवस