राजनीति

आधारभूत सुविधा गाउँमा पुर्‍याउनुपर्छ : मन्त्री अर्याल

कार्यक्रमकाे शुभारम्भ गर्दै मन्त्री पद्मा अर्याल। तस्बिर : माेहन/नागरिक

स्याङ्जा - भूमि व्यवस्था, सहरी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य बीमा कार्यक्रम जनताको जीवन बचाउने अभियान भएको बताएकी छन्। आइतबार स्याङ्जामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले जनताको स्वास्थ्य बचाउने जिम्मेवारी सरकारको भएको समेत बताइन्।

उनले बीमा क्षेत्रमा पनि सेवा प्रवाह गर्ने संस्थाहरू ठिक ढंगले सञ्चालनमा नआउनु, लगायतका समस्या रहेको र त्यसलाई छिट्टै समाधान गरेर अगाडि बढ्न आग्रह गरिन्। ‘जनताको जीवन बचाउने अभियान स्वास्थ्य बीमा कार्यक्रमको हो। मान्छे बचाउन सकियो भने त्यो भन्दा ठूलो कुरा अरू केही हुँदैन’, मन्त्री अर्यालले भनिन्, ‘जनताको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले जनताको आवश्यकताअनुसार नयाँ स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो।’ उनले अब जनताले गाउँमा सेवा चाहेको बताइन्। ‘आधारभूत सेवा सुविधा दिन सबै गाउँका मुकामसम्म यो सेवा नपुग्दासम्म प्रभावकारी हुँदैन’, उनले भनिन्।

मन्त्री अर्यालले कार्यक्रमको शुभारम्भ आफैंले स्वास्थ्य बीमाको सदस्यतम लिएर गरेकी थिइन्। उनले कार्यक्रममा उपस्थित स्याङ्जाका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई सदस्यता वितरण गरिन्। मन्त्री अर्याल स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहँदा उक्त कार्यक्रम सुरु गरेकी थिइन्। 

 

प्रकाशित: ५ फाल्गुन २०७५ १३:४५ आइतबार

पद्माकुमारी_अर्याल स्वास्थ्य_बीमा सरकार