राजनीति

कांग्रेसद्वारा सुनुवाई समितिको बैठक बहिस्कार

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानिक आयोगहरुमा प्रमुख प्रतिपक्षी दलका नेता विनकै बैठकले पदाधिकारी सिफारिस गरिएको भन्दै कांग्रेस असन्तुष्ट रहँदै आएको छ।

संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाईको तयारीको लागि आइतबार समितिको बैठक बसेको थियो। यस अघि कांग्रेसले लिखित असहमति पत्र पेश गर्दै सुनुवाई समितिको बैठक बहिस्कार गरेको थियो।

बैठकले मंगलबार दिनको १२ बजेदेखि प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीमाथि संसदीय सुनुवाइ प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ। 

संवैधानिक परिषद्को गत माघ ७ गते बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहेका पौडेल, समावेशी आयोगमा पूर्वसचिवसमेत रहेका सुवेदी, मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गरेको थियो। 

 मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन। 

संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 
मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई चार वटा उजुरी परेकोमध्ये एक अतिगोप्य, एक गोप्य र दुईवटा नामसहितको उजुरी परेको छ। उजुरीमा शैक्षिक योग्यता नक्कली रहेको विषय उल्लेख रहेको बताइएको छ। समितिका सभापति कर्णले समितिका सदस्यहरूलाई अध्ययनका लागि समय दिएको र अध्ययनपछि मात्र उजुरीका बारेमा थाहा हुने बताए।

समितिले आगामी मङ्गलबार ११ गते उजुरीकर्तालाई बोलाएको छ। नेपालको संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुरुप समितिको कार्यविधिअनुरुप सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिन समय दिएको थियो। रासस

 

प्रकाशित: ५ फाल्गुन २०७५ १०:०१ आइतबार

संसदीय_सुनुवाई कांग्रेस बहिस्कार