राजनीति

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

रुपन्देही – प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

बुटवल बजार परिक्रमा गर्दै पञ्चेबाजा सहितको र्याली बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणम भएको थियो। उक्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले देश बनाउने जिकिर गरेका छन्। उनले संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी हुनु भन्दा अघि देशको आर्थिक बृद्धिदर र संघीयता कार्यान्वयनमा आएपछिको आर्थिक बृद्धिदरले देश समृद्धिको चरणमा प्रवेश गरेको बताए।

‘संघीयता फाउण्डेशनको वर्षमा त आर्थिक बृद्धिदर बढेको छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘नेपाल बन्दैछ, बनाउँदैछौं हामी।’ उनले नेपाल तिव्र आर्थिक विकासमा गएको बताए। पोखरेलले संघीयता खर्चिलो व्यवस्था भएपनि जनताको खर्च भने घटाएको बताए। ‘संघीयताले राज्यको खर्च बढाएको छ, तर जनताको खर्च भने घटाएको छ।’ उनले नागरिकले घर नजिकै सेवा सुविधा पाएकाले सेवाका लागि गरिने खर्च घटेको बताएका हुन।

प्रदेश नम्बर ५ को समृद्धिका लागि कृषिबाट कामको थालनी भएको उनको भनाई थियो। शून्यबाट प्रारम्भ भएको प्रदेश सरकारले आफ्नो उपस्थिती देखाउन सफल भएको उनले बताए। ‘जनशक्ति, साधन श्रोत केहि पनि थिएन’ मुख्यमन्त्री पोखरेलले थपे, ‘आज प्रदेश सरकार खोज्ने र प्रदेश देखिने अवस्थामा ल्याएका छौं।’

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी जहाँ हुन्छ त्यहाँ विकास भन्ने कुरा सहि नभएको भन्दै पोखरेलले प्रदेश सरकारले तीन वटा आफ्नै विशेषता भएका क्षेत्रलाई महानगरको रुपमा विकास गर्ने मोडालिटी बनाएको बताए।

बुटवल, नेपालगञ्ज र दाङ उपत्यकालाई महानगरको अवधारण अनुसार विकास गर्ने प्रदेश सरकारको योजना रहेको उनले जानकारी दिए। मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा कृषि, पर्यटन र उद्योग नै समृद्धिको मुख्य आधार भएकाले सरकारले छिट्टै लगानी सम्मेलनको सोँच बनाएको बताए। बुटवल उपमहानगरको ६० औं स्थापना दिवस र प्रदेश सरकारको प्रथम स्थापना दिवस एकै दिन एउटै थलोबाट मनाइएको हो।

कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश नम्बर ५ का सभामुख पूर्ण बहादुर घर्ती, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, उपसभामुख, विपक्षी दलका नेता, सांसद एंव्म प्रदेशका उच्च तहका कर्मचारी, सुरक्षाअधिकारी र नागरिकहरुको सहभागिता थियो। कार्यक्रममा बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीले बुटवललाई सवैको साझा बनाउन आवश्यक रहेको बताए।

प्रकाशित: ३ फाल्गुन २०७५ १०:१५ शुक्रबार

प्रदेश_नम्बर_५ स्थापना_दिवस बुटवल_उपमहानगरपालिका मुख्यमन्त्री शंकर_पोखरेल