राजनीति

सिटौला समूहका विद्यार्थी नेताले घेरे पार्टी कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति ३२ वर्षमुनिको ल्याउन माग गर्दै नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताले पार्टी कार्यालय घेराउ गरेका छन्। 

अध्यक्ष नैनसिंह महरको राजीनामासँगै नेविसंघको वर्तमान कार्यसमिति पार्टीले भंग गरिसकेको छ। महाधिवेशनका लागि बनाइने तदर्थ समिति पनि यसअघि पार्टीले गरेको निर्णयबमोजिम उमेर हद लगाउन सिटौला समूहका विद्यार्थी नेताको माग छ।

उनीहरूले पार्टीले चलखेल गर्दै तदर्थ समितिमा उमेर हद हटाउन खोजेको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा पुगेका सभापति शेरबहादुर देउवालाई नाराबाजीसहित घेराउ गर्दै आफ्ना माग राखेको विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए।

विद्यार्थीको नाराबाजीपछि देउवा निकै आक्रोशित थिए। बैठकमा सहभागी हुन पुगेका सभापति देउवासहितका नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायतलाई विद्यार्थीहरूले घेराउ गरेका थिए। 

सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, उमेश थापामागर नवराज त्रिपाठी, सुवास घिमिरेलगायत विद्यार्थी नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका थिए। 

प्रकाशित: १ फाल्गुन २०७५ ११:१६ बुधबार

नेपाल_विद्यार्थी_संघ सिटौला_समूह पार्टी_कार्यालय घेराउ