राजनीति

सबै राजनीतिक शक्ति मिलेर राष्ट्र निर्माण गर्ने बेला आएको छ : अध्यक्ष दाहाल

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर विकासको यात्रामा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा दाहालले भने, ‘सबै आम नागरिक कम्युनिष्ट साथी तथा सबैलाई यो सानो राजनीतिक समृद्धिको यात्रामा समाहित हुन आग्रह गर्छु। सबैजना एकैठाउँमा गोलबद्ध हुनु जरुरी छ।’

सबैलाई जिम्मेवारीका साथ अघि बढ्न आग्रह गर्दै उनले पटक पटक सबै राजनीतिक शक्ति मिलेर देश निर्माणमा जुट्न आग्रह गरे। अधिकांश समय राजनीतिक शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरेका उनले यो एकताबाट विश्व नै चकित परेकाले सबैलाई एकताको सन्देश गएको बताए। उनले भने, ‘विगतका राजनीतिक आन्दोलनले सबैलाई एकै ठाउँमा उभिएर जान प्रेरणा दिएको छ।

म यहाँबाट सबैलाई अपिल गर्छु, यही बाटोबाट मात्र हामीले देखेको नयाँ नेपालको समृद्ध यात्रा पूरा हुन्छ। नेपाललाई समाजवादको नयाँ दिशातिर लैजान  सकिन्छ।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिक्रियावादी तत्वले यो एकता भाँड्न खोजेको उनले आरोप लगाए। भने, यसबाट हामी सजग हुनुपर्छ, हामी मिल्यौं भने कसैले अगल गर्न सक्दैन।’ सँगसँगै राजनीतिक सहयात्रा थालेका सबैजना एक भएर सबैको एजेन्डा विकास र राष्ट्रिय पुँजी निर्माणको बेला आएको उनले बताए।

संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसलाई पनि यो एकता र सहकार्यमा एक भएर लाग्न उनले आग्रह गरे। इतिहासमै सबैभन्दा ठूलो जिम्मेवारी आएको भन्दै उनले भने, ‘सबैलाई पुनः एकचोटि अपिल गर्छु, महान् जनुयद्धबाट पाएको यो सफलतालाई हामीले परिवर्तनमा बदल्नुपर्छ, सबैजना एक ठाउँमै बसौं।

प्रकाशित: १ फाल्गुन २०७५ ०७:०७ बुधबार

नेपाल_कम्युनिष्ट_पार्टी जनयुद्ध_दिवस राजनीतिक_दल