राजनीति

नेविसंघ धादिङमा तीन अध्यक्ष

धादिङ - नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ धादिङमा विवाद चुलिएको छ। केन्द्रबाट तीनजना अध्यक्षहरूलाई जिम्मेवारी दिएको पत्र आएसँगै विवादले उग्र रूप लिएको छ। सोमबार मात्रै नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएसँगै जिल्लामा पनि आफू निकटका विद्यार्थी नेताहरूलाई अध्यक्षको जिम्मेवारी तोकिएका विभिन्न पत्र बाहिर आएका छन्।

गत माघ ७ र ८ मा धादिङबेसीमा भएको १४ औँ जिल्ला अधिवेशन उद्घाटन सत्र सकिएर अधिवेशन नै नभई स्थगित भएको थियो। आफू निकटको मान्छे चयन नहुने अवस्था सिर्जना भएपछि जिल्ला नेतृत्वले अधिवेशन स्थगित गराएको भन्दै नेविसंघका कार्यकर्ता रुष्ट बनेका थिए। नयाँ अध्यक्ष बन्नका लागि निर्वाचन प्रक्रिया सुरु भएपछि भीम भट्ट, सुवास विसुराल, श्रीराम खतिवडा, डेभिड घले र राजन दनैले उम्मेदवारी दर्ता गराएका थिए।

अध्यक्ष नैनसिंह महरले हस्ताक्षर गरेको पत्रमा माघ १९ गते सुवास विसुराललाई अध्यक्षको जिम्मेवारी दिएको भनेर तोकिएको पत्र सोमबार सार्वजनिक भएको छ। त्यस्तै केन्द्रीय प्रतिनिधि एवं नेविसंघका केन्द्रीय सदस्य लक्ष्मणदत्त पन्थीले अध्यक्षका उम्मेदवार भीम भट्टलाई गत माघ ९ गते नै अध्यक्षको जिम्मेवारी दिएको पत्र सोमबार नै सार्वजनिक भएको छ। त्यस्तै मंगलबार अध्यक्षका अर्का प्रत्यासी श्रीराम खतिवडालाई प्रदेश ३ का संयोजक एवं नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले जिल्ला अध्यक्षमा चयन गरेको पत्र दिएपछि नेविसंघ जिल्ला अध्यक्षको संख्या तीनजना पुगेको छ।

सामाजिक सञ्जालमा अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि नेविसंघ धादिङका विवाद सतहमा आएको हो। ९ गते अधिवेशन स्थगित गरिएको भएपनि करीब २० दिन पुग्दा अध्यक्षको जिम्मेवारी तोकिएको पत्र सामाजिक सञ्जालमा आएका हुन्। अध्यक्ष लगायत पदाधिकारी पदमा सहमतिका आधारमा कस्लाई अध्यक्ष बनाउने विवाद हल हुन नसक्दा नेपाली काँग्रेस पार्टीले हस्तक्षप गरि अधिवेशन स्थगित गरेको थियो।

नेतृत्व गर्ने उम्मेदवारहरु धेरै हुदाँ नेविसंघ धादिङमा विवाद उत्पन्न भएको नेविसंघ धादिङका निवर्तमान अध्यक्ष ईश्वर अधिकारीले बताए। ‘उद्घाटन सत्रको कार्यक्रम सकिएर सर्वसम्मत गराउन खोजेका थियौँ तर नेतृत्व गर्ने उम्मेदरवारहरू धेरै भएपछि स्थगित भएको थियो’, अधिकारीले भने, ‘अहिले सार्वजनिक भएका कुनै पनि पत्रहरूमा वैधता छैन, आपूmनिकट नेताको लबिङमा अध्यक्षको जिम्मेवारी दिएका पत्र आएका हुन्।’ सहमतिमा नै आधिकारिकरूपमा अध्यक्ष सार्वजनिक गर्ने भन्दै यस्ता पत्रको पछि नलाग्न अधिकारीले आग्रह गरे।

दुई नगरपालिका सहित १३ वटा स्थानीय तहबाट जिल्ला अधिवेशनमा मतदानको लागि भनेर ४ सय ६१ जना प्रतिनिधि धादिङबेसी आएका थिए। चुनाव हुने आशामा तेस्रो दिनसम्म धादिङबेसीमा बसे पनि माघ ९ गते अधिवेशन स्थगित भएपछि त्यतिकै फर्किएका थिए।

प्रकाशित: १ फाल्गुन २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App