राजनीति

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन।

भेटका अवसरमा सभामुख महराले नेपाल र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध साढे ४ दशक पुगिसकेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए। नयाँ राजदूतको रुपमा नेपाल आएका मनलाई स्वागत गर्दै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रुपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कुटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे। 

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ’, उनले भने, ‘आफ्नो लक्ष्यमा दृढ रहेर विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छुँ। विश्व शान्तिका लागि उत्तर कोरियाको पहल निकै प्रशंसनीय छ।’ 

संघीय संसदले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच संसदीय मैत्री समूह गठनका लागि गृहकार्य गरिरहेको भन्दै सभामुख महराले दुई देशबीचका सांसदहरुको मैत्री समूह गठनले दुई देशबीचको राजनीतिक सम्बन्ध बिस्तार र अनुभव आदान प्रदानमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।

भेटमा राजदूत मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए। प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मार्सल किम जोङ उनले आफ्नो देशलाई समाजवादी अर्थतन्त्र विकास गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्ने रणनीतिक लक्ष्य रहेको भन्दै राजदूत मनले समाजवाद, कोरिया एकीकरण र विश्व शान्ति सफल हुनेमा मार्सल उन विश्वस्त रहेको बताए।

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै राजदूत मनले नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको समेत बताए। 

प्रकाशित: २७ माघ २०७५ १४:३९ आइतबार

उत्तर_कोरिया राजदूत सभामुख नेपाल लगानी