राजनीति

भेनेजुएला प्रकरणमा विज्ञप्ति आवश्यक थिएन : खड्का

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिए। उनले भने, ‘दाहालले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी ‘कु’ भन्नुभयो। दाहालले त्यसरी भन्नु आवश्यक नै थिएन।’ 

आइतबार रिपोर्टर्स क्लबमा नेता खड्काले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा दाहालकै लाइनमा वक्तव्य जारी गरेको सुनाए। उनले भने, ‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन? सिरियामा किन बोल्नुभएन्?’ 

उनले भने, ‘सरकारले पनि दाहालकै लाइनमा वक्तव्य जारी गर्यो। नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले ठूलो आर्थिक सहायता गर्दै आएको छ। सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा ह्रास आएको छ। नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन।’ खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे।

इण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन दाहालले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने आफूलाई लागेको पनि खड्काले जिकिर गरे। यही कदमले अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धमा असर परि नहाल्ने पनि खड्काले बताए। भने, ‘अहिले नै ठूलो असर परिहाल्दैन। हालै नेपालस्थित अमेरिकी राजदूत -यान्डी बेरीले प्रधानमन्त्री ओली र दाहालजीलाई भेट्नु भएको कुरा आएको छ। त्यसैले सम्बन्ध बिग्रिहाल्दैन।’

फरक प्रसंगमा बोल्दै उनले सरकारको एकवर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको पनि आरोप लगाए। भने, ‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ। यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ। निजी क्षेत्रको पनि त्यस्तै समस्या छ।’

दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उनको आरोप थियो। खड्काले थपे, ‘जनताका आधारभुत कुरा यो सरकारले पूरा गर्न सकेको छैन। सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ।’ मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण मागेर धान्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए। भने, ‘यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन्।’

प्रकाशित: २७ माघ २०७५ १३:०४ आइतबार

नेपाली_कांग्रेस भेनेजुएला_प्रकरण नारायण_खड्का विज्ञप्ति पुष्पकमल_दाहाल