राजनीति

वीपी उद्यानलाई नामेट पार्ने काम कांग्रेसलाई सह्य हुँदैन

काठमाडौं- वीरगंजमा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको नाममा बन्न लागेको वीपी उद्यानको निर्माण वदर गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले वीपी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्दा खरिद भइसकेको र प्रक्रिया अघि बढिसकेको अवस्थामा प्रदेश दुईका मुख्यमन्त्रीले अर्कै नाममा पार्क निर्माणको लागि शिलान्यास गर्नु दुखद भएको बताए।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताल सरकारले नामेट प्रयास भर्खरै असफल भएको बताउँदै उनले पछिल्लो प्रयास पनि सफल नहुने चेतावनी दिए।

कांग्रेस केन्द्रिय समितिले समेत वीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथै शिलान्यास कार्यक्रमप्रति आपत्ति जनाएको छ। कांग्रेसले पूर्व निर्णयलाई यथास्थितिमै कायम राख्न र यथाशिघ्र वीपी उद्यान निर्माण अघि बढाउन माग गरेको छ।

उद्यान बनाउने घोषणा भएको झण्डै दुई दशक विते पनि त्यसको सफल कार्यान्वयन हुन सकेको छैन। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्यानको घोषणा गरेका थिए। उद्यानको शिलान्यास ०६० कार्तिक २७ मा तत्कालिन श्रम तथा यातायातमन्त्री डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए।

प्रकाशित: २७ माघ २०७५ १०:१५ आइतबार

वीपी_उद्यान कांग्रेस वीरगंज