राजनीति

सत्य निरूपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासी खनालले राजीनामा दिएका छन्। आगामी शनिबार म्याद सकिँदै गरेको आयोगका दुई पदाधिकारीले बुधबार आयोगसमक्ष राजीनामा दिएको स्रोतले जनाएको छ। आयोगका पदाधिकारीले जिम्मेवारीअनुसार काम गर्न नसकेको आलोचना हुँदै आइरहेका बेला उनीहरूको राजीनामा आएको हो।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ। अध्यक्ष र सदस्यले आयोगकै एक सदस्यलाई श्रीकृष्ण सुवेदीलाई राजीनामा दिएर गएका थिए। ‘आइतबार पेस गरिदिने भनेर जानुभएको छ,’ आयोग स्रोतले जनाएको छ।

सरकारले भने दुवै आयोगको ऐन संशोधनका लागि संसद्मा पेस गरिसकेको छ। आयोगका पदाधिकारीको म्याद चैत मसान्तसम्मका लागि थप गर्ने र आयोगको एक वर्ष समय थप गर्नेगरी विधेयकमा प्रस्ताव गरिएको छ।

प्रकाशित: २४ माघ २०७५ ०१:५८ बिहीबार

सत्य_निरूपण_तथा_मेलमिलाप_आयोग अध्यक्ष सदस्य राजीनामा