राजनीति

कांग्रेस कार्यसमिति बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको गत मंङ्सीर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो। महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो। 

त्यस्तै कांग्रेसकाे भ्रातृ संस्था नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो। यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ। (रासस)

प्रकाशित: २३ माघ २०७५ ०४:११ बुधबार

नेपाली_कांग्रेस सानेपा कार्यसमिति महासमिति_बैठक विश्वप्रकाश_शर्मा